Wednesday, August 15, 2012

नेपाल फेरि पराजित, बाहिरिने सम्भावना बढ्यो

आरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाली खेलाडी। तस्बिर : आइसीसी
अस्ट्रेलियामा जारी एसिसी यु-१९ विश्व कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल आयरल्यान्डसँग १४ रनले पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डलाई १८५ रनमा रोक्न सफल नेपाली टिमको सुरुवाति ब्याटिङ निकै कमजोर रह्यो। आयरल्यान्डले प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा अन्तिम ३ बल बाँकी छँदा १७१ रन जोड्दै अलआउट भयो। खेलमा नरेश बुढाएरले ५ रन बनाउँदा हसिम अन्सारीले कुनै पनि रन जोड्न सकेनन्।


चौथो विकेटका रूपमा सुवास खकुरेललाई ३१ रनमा गुमाएको नेपालले थप १० रन जोड्दा नरेश पुलामी मगरले व्यक्तिगत ६ रनमा पभेलियनको बाटो समात्नुपर्‍यो। नेपाली टिम कप्तान पृथु बाँस्कोटा र अर्का खेलाडी प्रदीप ऐरीले ३७ रनको साझेदारी गर्दै नेपालीको पारी सम्हाल्ने प्रयास गरेका थिए। तर, छैटौँ विकेटका रूपमा पृथु व्यक्तिगत खातामा २० रन दर्ता गर्दै खेलबाट बाहिरिन बाध्य भए।

राहुल विश्वकर्माले प्रदीपलाई राम्रो साथ दिँदै नेपालको स्कोर १२९ रन पुर्‍याउँदा प्रदीप २१ रनमा आउट भए। नेपालको स्कोर बोर्डमा थप ४ रन थपिँदा भुवन कार्की २ रनमै आउट भए। अर्का खेलाडी राहुल विश्वकर्मा व्यक्तिगत ३१ रनमा आउट हुँदा नेपाल हार नजिक पुगेको थियो।

नेपालको अन्तिम विकेटका रूपमा सौरभ खनाल ३ रनमा आउट भए भने अभिनास कर्ण ३५ बलमा १४ रन जोड्दै अविजित रहे। यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो। उसका लागि सेन गेटकेटले सर्वाधिक ४७ रन बनाए भने एन्डी म्याकबेनले ४१ रनको योगदान दिए। नेपालका अविनाश कर्ण, पृथु बाँस्कोटा, राहुल विश्वकर्मा र भुवन कार्कीले समान २२ विकेट खसाल्न भ्याए।

नेपालले बिहीबार इङ्ल्यान्डसँग खेल्नेछ। अघिल्लो चरण प्रवेशका लागि बिहीबारको खेलमा नेपालले जित्नै पर्ने दबाब सिर्जना भएको छ। प्रतियोगितामा नेपालले कुनै अङ्क जोड्न सकेको छैन। यसअघि गत सोमबार भएको पहिलो खेलमा नेपाल २१२ रनले अस्ट्रेलियासँग पराजित भएको थियो। 

No comments:

Post a Comment