तस्बिर : नागरिकन्युज |
मुलुकको इतिहासमै 'एकयुगमा एकपल्ट' मात्र हुने संविधानसभा चुनावले कमैयाकी छोरीको नाम फेरिदियो- माननीय शान्ता चौधरी। पुस्तौंदेखि
अमानवीय व्यवहार सहँदै, हेपिँदै आएकी उनी संविधानसभा सदस्य भइन्। उनी संसद्को प्राकृतिक
स्रोत र साधन समितिको सभापतिसमेत भइन्।
दाङको घोराहीदेखि झन्डै पौनेघन्टा पैदल दूरीमा वनको जग्गामा उनको झुपडी छ।
त्यहीँ बस्छन्, उनका पति हरिलाल चौधरी। कमैया मुक्त घोषणा भएको तीन वर्षपछि पनि मुक्त नभएपछि उनी
आफैं छाडेर हिँडेका हुन्।
लक्ष्मीपुर गाविस–४, डाँडागाउँका
गरिब कमैयाकी छोरी शान्ता। सभासद् भएको आठ महिना नपुग्दै 'राज्यमन्त्री' सरह संसदीय समितिको सभापति
निर्वाचित भइन्। सावाँ अक्षर मुस्किलले फुटाउन सक्ने उनी भन्छिन्, 'अहिले त नेपाली पढ्न सक्छु,
आधा अक्षर भएको शब्द
अलि गाह्रो पर्छ।' पढ्न नपाएकोमा भने उनलाई अहिले पनि सबैभन्दा बढी पश्चात्ताप छ।
'औंठाछाप सभासद्' भनेर कुरा काटेको आफ्नै कानले सुनेकी छन् शान्ताले। निर्धक्क दाबी गर्छिन्,
'अरू विषय नजाने पनि
कमलरी, कमैया
र भूमिहीनका बारे पढेका मान्छेलाई पनि जित्छु। भोगेको मान्छेलाई पढेकोभन्दा बढी थाहा
हुन्छ।' कमलरी
बसेर १८ वर्षसम्म गरेको कठोर श्रम र व्यहोरेको शोषण कुनै विश्वविद्यालयको डिग्रीभन्दा
कम महत्वपूर्ण शिक्षा हैन भन्ने
उनको मूल्यांकन छ।
८ वर्षको उमेरदेखि १८ वर्ष कमलरी बस्दा आठ परिवार अधिकारी थरका जमिनदार रिझाइन्।
उनीहरूका शोषण, कुटपिट, हेपाइ, दुर्व्यवहार र कठोर श्रम उनले अध्ययन गरेको औपचारिक शिक्षा हो। त्यसैको जगमा अहिले
कमलरी, कमैया
र भूमिहीन गरिबहरूको पक्षमा डटिरहेकी छन्। त्यसबेला (कमलरी हुँदा) उनको दैनिकी थियो- बिहान ४ बजे उठ्यो। जमिनदारको घर गयो। अँध्यारैमा ढोका पखाल्यो। माटोको
घर भए दैलो पोत्यो। भान्सामा गएर जुठाभाँडा खेरेर बाहिर ल्यायो। माझ्यो। घरसर बढार्यो।
मलसोत्तर गर्यो। त्यसपछि भा“डा, गाग्रागाग्री, घैंटा के हुन्छ, लिएर खोलामा गयो। माझ्यो,
पानी लिएर आयो। त्यसपछि
निरन्तर के काम छ, गर्यो।
छोराछोरी बोकेर स्कुल पुर्याएपछि अनि वस्तु चराउन गयो। वस्तु बाँध्यो,
त्यसपछि घाँस काट्ने।
अनि फेरि बेलुकाको घरधन्दा। त्यति काम सक्दा भ्याए आफ्नो घर गयो, नभए जमिनदारकै दलानमा गुन्द्री
ओछ्यायो, रात
गुजार्यो।
सभासद् बनेपछि दिनचर्या बिल्कुलै फरक भयो। बिहानै उठ्यो, जनताको कामको चासो। समितिको काम, संसद्को बैठक, एमाले संसदीय दलको बैठक,
संविधानसभा,
अनि डेलिगेसन र बैठकमा
दिन बित्थ्यो। पंक्तिकार भेट्न जाँदा
समितिको बैठक भर्खर सकेर प्रतिनिधिसभा भवनमा बसिरहेको दलको बैठकतिर लम्किन्थिन्, 'हेर्नुस् न, मेरो पनि आज बोल्ने पालो
थियो।' उनी
पुग्दा बैठक नै सकिइसकेको हुन्थ्यो। अब उनको जीवनशैली फरिएको छ। तर, सरलता, शिष्टता र निर्दोष शैली उही छ। चितवन
राष्ट्रिय निकुञ्जका होटलबारे उनको समितिले अघि बढाएको अध्ययनबारे भनिन्, 'हेर्नुस् न, पैसा खाएँ भनेर भनेछन्, मलाई त यस्तो चित्त दुख्यो!'
बैरागलाग्दो विगत
तस्बिर : नागरिकन्युज |
आठ वर्षको उमेरमा गाउँकै खेतुलाल अधिकारीको घरबाट उनको कमलरी पेसा सुरु भो। अधिकारीका
बुढाबुढी नै सरकारी कर्मचारी थिए। उनले भनिन्, 'कमलरीको कामको सीमा हुँदैन। मालिकले
जे भन्छन्, त्यो गर्नुपर्छ। विशेषगरी घरायसी काम हो। त्यो काम नगर्ने हो भने त्यहाँ यातनादेखि
सबै कुरा व्यहोर्नुपर्थ्यो।'
बच्चा हेर्नुपर्थ्यो, लुगा धुनुपर्थ्यो। गाईवस्तु चराउनुपर्थ्यो। घरका सबै काम उनैले
गर्नुपर्थ्यो। उनकै उमेरका जमिनदारका छोराछोरी स्कुल जान्थे। जसले अलि बढी पैसा दिन्छ
वा अन्न दिन्छ, उसैकोमा सर्ने हो। कमलरीवापत यति दिने भनेर पहिला माघीको दिनमा लेनदेन हुन्छ। कमलरी
बस्ने उनको बाध्यता थियो। उनका आमा, बुवा, दाजुदिदी जम्मैले श्रम गर्थे। आफ्नो जमिन थिएन। अर्काको
जमिन जोतेर अधियाँ कमाउनका लागि छोरीलाई कमलरी राखिदिन्थे। जमिनदारको स्वेच्छाले कति
जमिन दिन्छ, त्यही हो।
अधियाँ कमाउनका लागि छोरीलाई कमलरी राख्ने चलन थियो। छोरी नदिए अधियाँ जोत्न दिँदैनथे।
मैले सुरुमा काम गर्दा वर्षको सात सय रुपियाँ र एकजोर लुगा दिन्थे। कचौरा हराएको,
घैंटो फुटालेको,
बिरामी भएर काम गर्न
नजाँदाको पनि पैसा काट्दिन्थे। त्यसो गर्दा वर्षको डेढ सयदेखि ३ सयसम्म आउँथ्यो। जमिनदारको
घरमा बस्न थालेपछि मात्र उनको आङमा पहिलोपल्ट नयाँ लुगा परेको हो।
जमिनदारका छोरी र शान्ताको उमेर उस्तै थियो तर उनलाई शान्ताले बोकेर स्कुल लानुपर्थ्यो।
मलाई सानो उमेरमा कमलरी बस्दा त किताब छोयो कि लट्ठीलट्ठीले हान्थे हातमा। उनका छोराछोरीलाई
प्याट्टपुट्ट पार्यो भने त लतारी–लतारी पिट्थे। उनको गाउँमा प्रसस्त जमिन भएका भन्दा पनि चिन्तनका
जमिनदार थिए। गरिब थारूहरूलाई कमैया–कमलरी राख्ने हो भन्ने उनीहरूको चिन्तन छ।
आफ्नो उमोरका बच्चाहरू स्कुल जान्थे। उनी भाँडा माझेर बस्नुपर्थ्यो। जाडोमा हात
कठ्याङ्रिन्थ्यो। लाउने लुगा हुँदैनथ्यो। हात लगलगी काम्थ्यो। सकेभन्दा बढी भारी बोक्नुपर्थ्यो।
पहिलोचोटि कमलरी बस्दाको बिर्सनै नसक्ने एउटा घटना सुनाउँछिन्, 'जरुवाबाट माटोको आफूजत्रै
घैंटामा पानी ल्याउनुपर्थ्यो। उठाइदिने कोही हुन्नथ्यो। बसेर टाउको निहुर्याएर अड्याउँदै
जोतेर यस्तरी उठाउनुपर्थ्यो, सकी नसकी। थाम्न सकिनँ, घैंटा फुटिहाल्यो। घरकी बुढीआमाले
घैंटा फुटालिस् भनेर त्यसको टुक्रा मेरो टाउकोमा गाडिदिन थाल्नुभो। फुटेको घैंटाको
टुक्रा टाउकोमा रगत आउनेगरी गाडिदिएपछि घैंटो फोर्न छाड्छ भन्ने अन्धविश्वास थियो।
म रोएँ, अब
कहिल्यै फोर्दिनँ भनेको छु। खबटा टाउकोमा गाड्दिनुभो। त्यो सम्भि्कँदा अहिले पनि दुःख
लाग्छ।'
अरू स्कुल जान्थे, शान्ता टोलाएर हेरिरहन्थिन्। उनलाई लाग्थ्यो- म पनि यस्तै गरी पढ्न जान
पाए। तर, बाध्यता
भाँडा माझ्नुपर्थ्यो। जमिनदारका केटाकेटी स्कुलबाट आउँथे, नास्ता खान पाउँथे तर दिनभरि काम
गर्दा पनि उनलाई नास्ताको वास्ता कसैले गर्दैनथे। आफ्नै उमेरका उनीहरू चाडपर्वमा नयाँ
लुगा लगाएर खेल्न जान्थे। उनलाई चाड आउँदैनथ्यो। उनीहरू मिठो–मिठो खान्थे तर सबै काम गरिदिने
आफू भोकै सुत्नुपर्थ्यो।
दिउँसोभरि काम गरेर साँझ घर गयो, घरमा जाँदा खानेकुरा हुँदैनथ्यो। माडको पानी उमालेर खान
दिन्थिन् आमाले। चाडपर्व आएको महसुस नै हुँदैनथ्यो। मिठो खान कहिल्यै पाइन्नथ्यो। नयाँ
लुगाको अनुहार देख्न कहिल्यै पाइन्नथ्यो। बाल्यकाल सम्झँदा अहिले पनि मन कुँडिन्छ।
आफ्ना आमाबालाई जमिनदारका बच्चाले पनि 'तँ' सम्बोधन गरेर बोलेको उनी स्मरण गर्छिन्,
'मेरो आमाबा बुढाबुढी
भए पनि हामी कमलरी बसेको घरका स–साना बच्चाले पनि पनि 'ए बड्का (जेठा), कहाँबाट आइस्, ए बड्की कहाँ जान लागिस्'
भन्ने। हाम्रा बुवाआमाले
बच्चाहरूलाई पनि नानी, हजुर, तपाईं भन्नुपर्ने। मलाईचाहिँ मान्छे–मान्छेबीचको विभेद देखेर सानै छँदा
पनि रिस उठ्थ्यो, दिक्क लाग्थ्यो।'
बिहे भयो, दुःखै बढ्यो
तस्बिर : नागिरकन्युज |
०५७ सालमा कमैया मुक्तिको घोषणा भयो तर शान्ता र हरिलाललाई थाहा भएन। उनी तीन वर्षपछिसम्म
कमैया नै बसे। छोरा छ वर्ष, छोरी ४ लागी। तर छोराछोरीलाई पढाउन सक्ने स्थिति छैन। खान दिनसक्ने
अवस्था छैन। कैयौं रात फकाएर भोकै सुताउनुपरेको छ। दुःख त गर्नुपर्छ तर श्रमको मूल्य
पाउनुपर्छ भन्ने लाग्थ्यो। उनले पतिलाई भनिन्, 'म बरु कमलरी बसिरहन्छु, तपाईं लेबर काम गर्न जानुस्।
अति भो, यो
कमैयाचाहिँ छाडौं।'
०६० सालमा काम छाडी मुक्त भए। मुक्त कमैयाको गणनामा पनि परेनन्। 'मेरा श्रीमान छुट कमैया।
कमैयाको लगत लिनुपर्छ भनेर त आवाज उठाइराछौं,' शान्ताले भनिन्, 'तर सरकारले सुनेको छैन। वास्तविक
कमैया आधाको पनि लगत छैन। न कमलरीमा परिन्छ, न कमैयामा, न सुकुमबासीमा।'
बिहे गरेपछि त झन् दुःख पाएको अनुभव शान्तासँग छ। उनी सुनाउँछिन्, 'सुत्केरीमा कयौं दिन भोकै
बसेँ। कहिले माइतबाट मकै मागेर ल्याएर खुवाउँथेँ। कहिले पैंचो ल्याएर खुवाउँथेँ। कसैको
तिथिशरद वा दसैं आएको छ भने घर पोत्दिन गयो भने १ माना खुदी (कनिका), फाटेको धोतीको थाङ्ना दिन्थे,
त्यसैले सेपेर बच्चालाई
ओड्ने–ओछ्याउने
बनाउँथे। घर पोत्न, पात टिप्न गएपछि केलाएर खुदी दिन्थे। भात खान पुग्दैनथ्यो, त्यसैको खोले पकाएर खान्थ्यौं।
एकछाक पुग्नेलाई खोले बनाएर २–३ छाक पुर्याउँथ्यौं।'
छोराछोरीले पनि दुःख पाएको देख्दा झन् दुःखी हुन्थिन्। छोराछोरीले आफूजस्तो दुःख
नपाए हुन्थ्यो भन्ने लाग्थ्यो उनलाई। श्रीमान मजदुरी गर्न थाले। उनी सुनाउँछिन्,
'एकदिनमा सात घरसम्म
भाँडा माझ्थेँ। महिनाको २–३ सय रुपियाँ दिन्थे। २–३ घरमा घाँस काट्थेँ। दिनमा एक भारी
घाँस काटेवापत महिनामा ३ सय दिन्थे। त्यसो गरी–गरी बच्चालाई खुवाउन थालेँ।'
अधिकारकर्मी र यातना
तस्बिर : नागरिकन्युज |
आफूलाई मसिनोको भात, हामीलाई कुहिएको चामल पकाइदिन्थे। विभेद सम्झँदा खुन उम्लेर
आउँथ्यो। कसरी छुट्कारा पाउने? त्यहीबेला भूमि आन्दोलनसँग सम्पर्क भयो। 'ग्रामीण महिला उत्थान केन्द्र'
की आसमानी चौधरीले
अधिकारका लागि लड्नुपर्छ भन्ने शिक्षा दिइन्।
शान्ता पनि लुकेर कार्यक्रममा जान थालिन्। उनले सनाइन्, 'भाँडा माझ्यो, बिहानै उठेर घास काटेर लुकायो,
अनि घाँस काट्न जान्छु
भनेर कार्यक्रममा गयो, आउँदा घास ल्यायो।'
०६० सालताकाको कुरा हो। उनी एउटा कार्यक्रममा गएकी, जम्मै भूमिहीन नै भूमिहीन। गरिबै
गरिबको जमघट। सम्झन्छिन्, 'ममात्र गरिब भन्ने लाग्थ्यो, म त छक्क परेँ। यत्रो जनाले आवाज
उठायो भने त कसो नसुन्ला भन्ने लाग्यो।' त्यसपछि जमिनदारसँग लुक्दैछिप्दै आन्दोलनमा जान थालेँ।
सुरुमा त समस्या भयो। एक त महिला, त्यसपछि गरिब अझ थारू समाजकी। गाउँमा कमलरी मुक्ति अभियान
चलाइन्। कोही महिलालाई कार्यक्रममा लिएर गएकी भए साँझ फर्केर आउँदा उनकै अगाडि नै लोग्नेले
बेस्सरी पिट्थे।
शान्ता सम्भि्कन्छिन्, 'म घर पुग्नुअगाडि श्रीमानलाई जाँड ख्वाएर मताएर राख्थे। म घर
पुग्नु त के, आधा बाटोबाटै कुट्न सुरु गर्थें। तेरो श्रीमती आज फलानोसँग हिँडेकी थिई। यस्तै
कुरा लगाइदिने? जेठाजु, जेठानी, आमाजु, नन्द सबैले म बाहिर गएको फिटिक्कै मन नपराउने। गाउँका मान्छेले पनि छोराछोरीलाई
टुहुराटुहुरी जस्तो बनाएको छ, नेतागिरी गर्दै हिँडेको छ भनेर जम्मैले थुक्थे।'
२–३ जना
दाइहरू थिए असाध्यै हेप्ने। उनीहरूले खिस्याए, 'कत्रा–कत्रा नेताले त केही गर्न सकेका छैनन्,
तैंले सक्छेस् भने
यो डाँडोमा बिजुली बत्ती ल्याएर देखा।'
शान्ता वन उपभोक्ता समितिको म सदस्य थिइन्, यो कुरा अध्यक्षसँग भनिन्। उनले सहयोग
गरे। गाविसमा, विद्युतमा गाउँका महिलालाई कुटाइ खुवाइ–खुवाएर भए पनि सँगै लगेँ। परार साल
बिजुली बल्यो। त्यसपछि ए, भनेर अलि पत्याउन थाले।
कमलरी छुटाइन्, पढाउन सक्ने ठाउँ छैन। 'फेरि एउटा संस्थालाई भनेर १५–१६ जनालाई पढ्ने व्यवस्था मिलाएँ।
अहिले पनि ती बहिनीले त्यहीँ बसेर पढ्छन्,' उनले सुनाइन्। त्यसपछि गाउँमा अलि
सजिलो भयो। श्रीमानले पनि अलि बुझे। अब यो कहाँ जान्छे, के गर्छे भन्ने त थाहा भो।
सभासद् : आफैं छक्क!
भूमि अधिकार त गरिबहरूको साझा संस्था हो। त्यसैले पार्टीको झन्डै बोकेर हिँड्न
मिल्दैनथ्यो। समानुपातिकको सूचीमा राख्न माओवादीले पनि नाम मलाई दे भन्ने, एमालेले पनि भन्ने। अरूले
पनि मागेका थिए। एमालेमा आस्था भएकाले एमालेलाई दिएँ। लास्टमा थियो नाम। हुने त हैन,
देखाउनलाई लगे भन्ने
लाग्यो।
सभासद भएको सुन्दा पत्यारै लागेन। शान्ति चौधरी (महेश चौधरीकी श्रीमती) बुझे सबैले।
मैले त २–३
दिनपछि मात्र सभासद उनै भएको थाहा पाइन्। 'राति एक जनाले बधाई छ, सभासद हुनुभो भनेर फोन गर्नुभा। म
खङ्रङ्ङ परेँ। हैन होला भन्ठानेँ। फोन आएपछि डर लाग्याजस्तो, कस्तो अप्ठेरो भयो। रातभरि
सुत्न सकिनँ। खुलदुली लाग्यो। खुसीभन्दा पनि जिम्मेवारी बढी भो, के गर्ने भन्ने भयो। काम
गर्न नसके के होला, जता कुरा मनमा खेल्न थाल्यो।'
लेबर काम गर्न नसक्ने भएपछि उनका श्रीमान काठमाडौंकै स्कुलको प्रिन्सिपलको घरमा
काम गरेर बस्न थालेका। शान्ता भने छोराछोरीसँगै दाङमै बस्थिन्। श्रीमानले पनि फोन गरे,
'शान्ता चौधरी भनेर
टिभीको तल अक्षरमा देखाउँछ।'
गाउँका जमिनदारमा पनि हिजो हाम्रो घरमा भाँडा माझेर बस्ने पनि सभासद भई भनेर खुसी
नै भए। बधाई दिए, अबिर लगाइदिए। 'अबिर लगाउँदाचाहिँ रुन मन लाग्यो। हिजोको पीडा र आजको दिन सम्भि्कँदा अप्ठेरो महसुस
भए। आखा रसाए,' उनले भनिन्, 'कसैले नसघाउँदा पनि मेरो आमाले मलाई सहयोग गर्नुभएको छ। कहिलेकाहीँ बच्चालाई दुःख
दिइस् भन्नुहुन्थ्यो। दाइभाउजुको डरले लुकाएर चामल लगिदिनुहुन्थ्यो, मकै लुकाएर लगिदिनुहुन्थ्यो।
सबैले गाली गर्दा मेरो छोरी यस्तो हैन भनेर प्रतिवाद गर्नुहुन्थ्यो। आमाको प्रेरणाले
गर्दा अघि बढेको थिएँ। सभासद् भई भन्ने थाहा पाएपछि आमा पनि खुब रुनुभो।'
सभासद् भएपछि काठमाडौं आउनुपर्ने भयो। उनीसँग एक रुपियाँ पनि छैन। काठमाडौं तुरुन्त
आ भन्छन्, कसरी आउनू! अझ फेरि प्लेनमा आ भन्छन्। प्लेन कहिल्यै चढेको छैन। फेरि ऋण काढेर
काठमाडौं आइन्।
गणतन्त्र कार्यान्वयन गर्ने संविधानसभाको पहिलो बैठक। कुन गेटबाट कहाँबाट पस्ने
हो, कोही चिनेको
छैन। कोसँग जाने हो, कोसँग बोल्नू? पहिलैदेखि राजनीति गरेको भए चिनजान हुन्थ्यो। उनीसँग साडी पनि थिएन। थारू महिलाको
पहिरन — लुंगी
र ब्लाउजमा बैठकमा जान्थिन्।
वामपन्थी दलकै एक महिला सभासदले ठ्याक्कै उनीतिर हेरेर भनिन्, 'यस्ता त छन् सभासद,
अनि मिडियाले पनि किन
नलेखोस् — भाँडा मिच्दामिच्दै सभासद, चुरा बेच्दाबेच्दै सभासद भनेर।' उनलाई साह्रै नराम्रो लाग्यो,
बुढी आमैले गाग्रोको
खबटा टाउकोमा गडिदिँदा भन्दा पनि दुःखी भइन्। पोसाक देखेर सँगै हिँड्न लाज मानेको पनि
उनले भोगिन्।
सोचेभन्दा भिन्नै विचित्रको संसार रहेछ यो। हुनेखाने बस्ने ठाउँ रहेछ भन्ने लाग्यो।
उनलाई लागेको थियो, संविधानसभामा पनि मजस्ता धेरै होलान्। तर, कोहीकोही मात्र गरिब, त्यो पनि माओवादीबाट आएका।
मनमा नराम्रो कुरा खेल्यो।
उनलाई देखाएर 'यस्ता त छन् सभासद्' भन्ने मान्छे बोलेको नसुनी हाउस छाडेर नजाने अठोट गरिन्। कस्तो
बोल्ली यसले? उनमा 'इगो' जाग्यो।
उनले सुनाइन्, 'त्यो मान्छे उठेर नगई एकदिन पनि हाउस छाडेर गइनँ। म बोलिसकेँ, यो मान्छे बोल्दैन। धेरै
पछि बोल्नुभो उहाँ। पढ्न नजाने पनि बोल्न भने म पनि सक्थेँ। ऊसँग तुलना गरेपछि अलि
हौसला बढ्यो, सन्तोष भो। मिठो खाँदैमा र राम्रो लाउँदैमा हुँदो रैनछ भन्ने भो। उत्साह जाग्यो।'
सभापति चयन हुँदैछ भन्ने थाहा थियो, सचेतकले फोन गरे। उनलाई लाग्यो, कसैलाई समर्थन गर्न होला।
सचेतकले भने, 'तपाईंलाई सभापति बनाएका छौं, सक्नुहुन्छ कि सक्नुहुन्न?' उनले भनिन्, 'सभासद त गाह्रो छ,
लेखपढ छैन।'
प्रौढ शिक्षा पढेको
पनि बिर्सिसकेकी थिइन्। सही गर्नमात्र आउँथ्यो। अनि समस्या भो। उनी द्विविधामा परिन्।
'किन सक्नुहुन्न, चलाएपछि सकिन्छ,' सचेतकले उत्साह भरे। सक्छु कि सक्दिनँ भन्ने धुकचुक भयो। सभापति चुनिइन् —
संसद्तर्फको प्राकृतिक
स्रोत र साधन समितिको। उनको अनुभव छ — धेरै समय समितिको बैठक नै राखिनँ। सकिन्छ कि सकिन्न भन्ने
पनि भो। संविधानसभाका समितिको सभापतिका काम देखेपछि मलाई डरडर लाग्यो। अप्ठेरो पो रेछ
कसरी गर्ने होला? आँटे त सकिन्छ नि, जे त होला भनेर बैठक डाकेँ। पहिलो दिनचाहिँ अप्ठेरो भो। एक्लै
सभापतिको मात्र निर्णय हैन, सहमतिको निर्णय हो भन्ने भो। सुरुमा त मेरो समितिमा सभासदलाई
बस्न पनि अप्ठेरो भएजस्तो लाग्थ्यो। आजभोलि त पढ्न नजाने पनि बैठक चलाउँछु। पहिला–पहिलाको भन्दा सजिलो भएको
छ। आधा–आधा
अक्षर भएको शब्द पढ्न अझै अप्ठेरो लाग्छ, खर्र पढ्न सक्दिनँ।
सभापति भएपछि एकपल्ट गाडी नलिई गएँ, त्यसपछि गाडी लिएर गएको छु। आजकल त जमिनदारकै घरअगाडिबाट
गाडी लिएर जान्छु। छक्क पर्छन्। मेरा बुवासँग चाहिँ 'ल बड्का, तिम्री छोरी बडा भाग्यमानी रैछ,
बुढाबुढी नै भाग्यमानी
रैछौं। छोरी ठूलो मान्छे भै भन्छन् रे। गाउँका मान्छे छक्क पर्ने स्थिति आएको छ।
आजभोलि त गाउँभरिका मान्छे आउँछन्। आफ्नै गाउँका मान्छेलाई प्रयोग गर्न सकेका छैनौं
भन्छन्। मसँग सल्लाह माग्छन्। मैले हरेक वर्ष बजेट पनि छुट्याउँछु। पोहोर १ लाख छुट्याएको
थिएँ, यसपालि
पनि छुट्याएको छु सभासद विकास कोषबाट। बजेट हाल्दा पनि गाउँका मान्छेसँग सल्लाह गर्छु।
हामीलाई त यसले दुश्मनको रूपमा हेरेको रैनछ भनेर खुसी हुन्छन्।
साभार : नागिरक दैनिकमा वैशाख ११ (२०६७) मा प्रकाशित भइसकेको छ।
No comments:
Post a Comment