Friday, August 31, 2012

ढकिया बनाउँदै थारु महिला


दिलवहादुर छत्याल, कैलाली- दरक ६ कि अनिता चौधरी नदीको किनारबाट ल्याइएको मुज घाँसबाट खानाका परिकार र पूजाका सामाग्री राख्‍न मिल्ने आकर्षक ढकिया बनाइरहेकी छन्। फुसर्दको समयमा खाली नबसी उनी ढकिया बनाउनमा ब्यस्त हुन्छिन्। विभिन्न डिजाइनका आकर्षक ढकिया उनले बनाएकी छन्। घरमै बसेर बनाएका ढकिया देशका विभिन्न ठाउँबाट घुम्‍न आएका ब्यक्तिले किनेर लग्दा उनी दंग पर्छिन्।


'ढकिया त पहिले पनि बनाउँथे,' उनले भनिन्, 'तर आजकल यसको बिक्री हुन थालेपछि आकर्षक डिजाइनवाला बनाउन थालेकी छु।' नदीको छेउमा काम नलाग्ने घाँसलाई प्रयोग गरेर बनाएका सुन्दर ढकिया सबैले मन पराउने उनको भनाई छ।
 उनीमात्र नभई दरक टोलका थारु समुदायका महिलाले फुर्सदको समय विभिन्न डिजाइनका आकर्षक ढकिया बनाउन व्यस्त हुन्छन्। बजारमा बिक्न थालेपछि याहाँका थारु महिला ढकिया बनाउनतर्फ आकर्षित बनेकी हुन्।

उनीहरुले बनाएका ढकिया घरमा विभिन्न काममा प्रयोगसमते हुने गरेको ती महिलाहरुले बताइन्। 'घरको काममा समेत ढकियाको प्रयोग हुन्छ,' अनिताले भनिन्, 'बेचेर आएको पैसाले घर खर्च पनि टर्छ।'

सीता चौधरीले भने ढकियाले बजार पाउन थालेपछि उत्साह बढेको बताइन्। टोलभरिका महिलाले बनाएका ढकिया ठेलामा राखेर याहाँको सुन्दर पर्यटकीय स्थल घोडाघोडीको छेउमा लगेर बिक्री गर्छिन्। थारु समुदायका ढकिया पर्यटकले उपहारका रुपमा ढकिया किनेर लाने गरेको सीताले बताइन्।

ढकिया बेच्दै आएका तीस वर्षीया लालरानी चौधरीले प्रत्येक ढकिया ५० रुपैयाँ देखि २ सय पचास रुपैयाँसम्म बेच्ने गरेको बताइन्। 'ठेलामा राखेर घोडाघोडीको छेउमा बेच्छु,' उनले भनिन्, 'पर्यटकले मन पराएर किन्छन्।' उनले दिनमै ८ वटा सम्म बिक्री गरेको खुलाइन्।

११ जना महिलाको ढकिया ब्यक्ति समूह बनाएर ढकिया उत्पादन र बिक्री गर्ने गरेको समेत उनले बताइन्। प्रत्येक महिलाले महिनाको २० वटा सम्म ढकिया बनाउने गरेको लालरानीले बताइन्। उनले ढकिया बिक्री गरेर ३५ हजार जम्मासमेत भइसकेको बताइन्।

मेकअपका सामान, खानाका परिकार तथा पूजाका सामग्री राख्‍न मिल्ने भएकाले ढकियाको प्रयोग बढ्दै गएको ती महिलाहरुको भनाई छ। यसको प्रबर्द्धन हुन नसकेकोप्रति भने उनीहरु खिन्न छन्। 'यसलाई राष्ट्रियस्तरमा प्रबर्द्धन गर्न सकेका छैनौं,' लालरानीले भनिन्, 'प्रबर्द्धन हुन सके देशब्यापीरुपमै यसको बिक्री वितरण बढ्ने थियो।'

सन २०११ मा नटक्याफ्ट भन्ने संस्थाबाट याहाँका महिलाहरुले ढकिया बनाउन सिकेका हुन्। थारु महिलाले बनाएका आकर्षक ढकिया लैजान पाउँदा घोडाघोडीमा घुम्न आउने पर्यटक खुसी हुने गरेको स्थानीय बासिन्दा बताउँछन्।

No comments:

Post a Comment