स्केच : देवेन |
कञ्चनपुर- कृषि
र पशुपालनलाई मुख्य पेसा बनाई जीविका चलाउँदै आएका थारू समुदायको पछिल्लो समयमा वैदेशिक
रोजगारीप्रति आकर्षण बढे पनि तिनको जीवनशैलीमा कुनै परिर्वतन आउन सकेको छैन। थोरै जग्गा
भएका थारू समुदायका व्यक्ति जीविका चलाउन कृषि पेसाले नधानिने भएपछि तीन वर्षयता वैदेशिक
रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने क्रममा तीव्रता आएको छ।
कृषि र पशुपालन व्यवसायबाट छ महिनामात्र खान पुग्ने भएकाले यहाँका थारू समुदायका
विपन्न व्यक्तिले अधिया र मजदुरी गरेर वर्षभरिका अन्न र कपडाको जोहो गर्दैआएका थिए।
परिवर्तित समयअनुसार वैदेशिक रोजगारीबाट आफ्नो आर्थिक अवस्था सुदृढ हुने आशामा बैंकमा
जग्गा धितो राखेर वा दृष्टिबन्धकी गरेर रकमको व्यवस्था मिलाउँदै वैदेशिक रोजगारीमा
जाने थारू युवाको सङ्ख्या उल्लेख्य छ।
ऋण गरेर वैदेशिक रोजगारीमा जाने थारू युवकले कमाएर ल्याउने रकमबाट घरखर्च चलाउन
र ऋण तिर्नमै ठीक्क हुने भएकाले उनीहरूले आफ्नो आर्थिक अवस्थामा खासै परिवर्तनको आभास
पाउनसकेका छैनन्। वैदेशिक रोजगार कम्पनीले परिचालन गरेका दलालको प्रलोभनमा परी अधिकांश
थारू युवक विदेसिने गरेका छन्।
अधिकांश थारू युवक मलेसिया, सउदी अरब, कुवेत, कतारलगायतका देशमा मजदुरीका
लागि जाने गरेको थारू अगुवा पहरू दहितले बताए। उनका अनुसार कञ्चनपुरबाट तीन वर्षको
अविधमा मात्र एक हजारको हाराहारीमा युवक वैदेशिक रोजगारीमा गएका छन्। सरकारले खाडी
मुलुक र मलेसियाका लागि रु ८० हजार दस्तुर निर्धारण गरे पनि दलालले आकर्षक पारिश्रमिक
पाइने आश्वासन बाँड्दै रु एक लाखदेखि एक लाख तीस हजारसम्म असुल्ने गरेको शिक्षक विक्रम
चौधरीले बताए। वैदेशिक रोजगारमा जाँदा अपनाउनुपर्ने सावधानी र जानकारीका अभावमा थारू
युवक बढी शुल्क बुझाउन बाध्य छन्- उनी थप्छन्।
'आफू कुन देश जाँदैछु,' भन्नेसम्म धेरै युवकलाई जानकारी नहुने गरेकाले दलालले एक कामका
लागि भनिएकामा अर्कै काममा पठाउने गरेका र सजिलो काम भनेर धेरै युवकलाई बढी श्रम गर्नुपर्ने
जोखिमयुक्त क्षेत्रमा पठाएको चौधरीले बताए।
युवा वर्ग वैदेशिक रोजगारीमा लागेपछि कृषिक्षेत्रमा दक्ष जनशक्तिको अभाव हुन थालेकोप्रति
चिन्ता व्यक्त गर्दै थारू राजनीतिकर्मी लक्ष्मण चौधरीले भने, 'दक्ष युवा जनशक्ति वैदेशिक
रोजगारमा जान थालेपछि कृषिको उत्पादकत्वमा समेत ह्रास आउन थालेको छ।'
नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ, कञ्चनपुरका
उपाध्यक्ष दानसिंह डगौरा थारू युवाको वैदेशिक रोजगारमा आकर्षण बढ्नामा कृषिको आधुनिकीकरण
नहुनु र परिवारको खर्च धान्न नसक्नु नै प्रमुख कारक भएको बताए।
कृषि पेसाबाट परिवारको जीविका चलाउन नसकेकाले नै थारू युवकको विदेसिने क्रम बढेकाले
सरकारले आवश्यक मल, बीउबीजन, कृषि उपजको मूल्य निर्धारण एवं बजारीकरणको व्यवस्था गरेर उनीहरूलाई
विदेसिनबाट रोक्न सक्नुपर्ने सुझाव उनले दिए।
पिपलाडीका वालकिसन चौधरी गाउँका अन्य युवाले वैदेशिक रोजगारीमा गएर पैसा कमाएको
देखेर आफ्ना दुई छोरालाई विदेश पठाएको बताए। उनले भने, 'पहिला घरमा छोरा हुँदा डेढ
बिघा खेत आफैंले कमाउँदै आएका थियौं, छोरा विदेश गएपछि खेतमा बाली
लगाउने व्यक्ति नभएकाले अधियामा कमाउन दिएका छौं, अधियाबाट
आएको अन्नले नौ महिना खान पुग्छ, अन्य तीन महिनाका लागि छोराले
विदेशबाट पठाएको पैसाबाट अन्न खरिद गर्ने गरेका गर्छौं।'
वैदेशिक रोजगारमा जाने अधिकांश थारू समुदायका युवकले मासिक पन्ध्रदेखि बढीमा रु
२५ हजारसम्म कमाउने गरेका छन्। विदेशको कमाइबाट उनीहरूका परिवारको अवस्थामा खासै परिवर्तन
नआए तापनि वर्षभरिका लागि खान र छोराछोरीलाई निजी विद्यालयमा पढाउन भने सघाउ पुगेको
बताइन्छ। बैंकबाट ऋण लिएर तीन छोरालाई वैदेशिक रोजगारमा पठाएका मणिराम चौधरीले भने, 'पूरै परिवारका लागि वर्षभरि
खेती गरेर खान पुग्ने अवस्था छैन, बेरोजगार भएर बस्नुभन्दा
विदेशबाट पैसा कमाएर ल्याएपछि परिवारको अवस्था सुदृढ हुन्छ कि भनेर छोरालाई विदेश पठाएका
हौं।' छोराहरूले विदेश गएको नौ
महिनामै रु एक लाख पचास हजार पठाएका छन्, त्यही
रकमबाट अधिया लगाउँदै आएको जग्गा ठेक्कामा लिएर खेती गरेर परिवारका लागि अन्न र लुगाफाटो
जुटाउँदै आएको पनि उनले बताए।
वैदेशिक रोजगारमा गएका परिवारको अवस्थामा खासै परिवर्तन नआएको बताउँदै थारू सामाजिक
कार्यकर्ता धनबहादुर चौधरीले भने, 'उनीहरूले पठाएको रकम उत्पादनशील क्षेत्रको सट्टा घरजग्गा र मोटरसाइकल
किन्नमै बढी खर्च भएको छ।' तीन वर्षअघि मलेसिया पुगेर फर्केका मानबहादुर चौधरी भने पैसाकै
लागि विदेसिनु राम्रो नभएको तर्क गर्छन्। वैदेशिक रोजगारमा भन्दा थोरै पुँजीमा भए पनि
आफ्नै खेतमा तरकारी खेती गर्न सके बढी कमाउन सकिने, परिवारसँगै
सुखदुःखमा रमाउन पाइने चौधरीले बताए।
'मालिकले
भनेको जुनसुकै बेला कामका लागि तयार हुनुपर्ने बाध्यता छ, कतिपयले त काम गर्न नसकेर आत्महत्या गरेका खबरसमेत पत्रपत्रिकामा
पढेकै हुँ,' उनी
थप्छन्।
दलालले अधिकांश युवकलाई भारतीय विमानस्थलको प्रयोग गरी विदेश पठाउने गरेकाले उनीहरू
बढी जोखिममा रहेको नेपाल कमासु समाजका अध्यक्ष भागीराम चौधरीले बताए। दलालमार्फत् भारतीय
विमानस्थल प्रयोग गरेर कतार पुगेका पिपलाडी-६, का लालबहादुर चौधरीले नक्कली भिसाका कारण आफू छ महिना जेलमा
बसेर घर फर्कनुपरेको पीडा सुनाए।
स्थानीय थारू अगुवा सुरेश चौधरी विदेश जानुअघि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति
लिनुपर्ने, अभिमुखी तालिम, बिमा, वैदेशिक रोजगार कम्पनीसँग
रकम बुझाएको सक्कली रसिद लिनुपर्ने र ठगीमा परे वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्छ
भन्नेबारे चेतना नभएकै कारण अधिकांश थारू युवा दलालमार्फत भारतीय विमानस्थलको प्रयोग
गर्दै वैदेशिक रोजगारमा जाने गरेको जानकारी दिए।
रोजगारीका लागि विदेश जानेमा थारू युवकको सङ्ख्या बढी भए पनि हालसम्म थारू युवती
गएको भने कुनै अभिलेख छैन। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा आव
०६८/६९ मा एक हजार ३१२ जनाले राहदानी बनाएका छन्। तीमध्ये पाँच प्रतिशतभन्दा बढी राहदानी
थारू युवकले बनाएको राहदानी फाँटका नायबसुब्बा पदमराज भट्टले बताए। हालः ११० जनाले
राहदानीका लागि आवेदन दिएको र त्यसमा ९० प्रतिशतभन्दा बढी खाडी मुलुक जाने युवा नै
बढी रहेको बताइएको छ। रासस
No comments:
Post a Comment