Friday, August 10, 2012

नयाँ मुलुकका पुराना बासिन्दा थारु


शिशिरको बिदाबारी अनि ऋतुराज वसन्तको आगमनसँगै गर्मीयामले उपस्थिति जनाइसकेको चैतको एउटा दिन थियो। पूर्व मनसुनले ल्याएको असिनावर्षाले चढ्दो गर्मीलाई केही मत्थर पारेको थियो। समयमै बुटवल पुगेर धनगढीको बस समात्नु थियो। घरबाट निस्कदा बसन्तको मधुर समीरसँगै उषाले आफ्नो गुलाबी आँचल फहराउदै स्वागत गरिसकेको थियो। अलिक पर पुगेपछि रिमघाको लेकबाट सूर्यले चियायो। तानसेनबुटवलको बस चढ्दा बिहानको सात बजिसकेको थियो। यात्रामा नानु श्रद्धा र पंक्तिकार थियौं।
बस गन्तव्यतिर लाग्यो। मस्यौरे बादलले सगर ढाकेको थियो। माडी फाँट आकाशबाट झरेर धरतीमा सुतेझैं देखिन्थ्यो। क्षितिजसम्मको मनोरम प्राकृतिक दृश्य आँखामा थुनिराखौंजस्तो। भावना जस्तै तेज हावा चलिरहेथ्यो। हावाले पहेलिएका पुराना पातलाई बोटबाट जबरजस्ती झार्दै आफैसँग उडाई लगिरहेको थियो। हाँगामा नयाँ मुना पल्लवित भएका देखिए।


धञेरोले प्रकृतिलाई रक्ताम्य पारिरहेको थियो। बस बुटवल पुग्दा बिहानको नौ बजिसकेको थियो। रिक्सा लिएर धनगढीको बस भेट्न तिनाउको पुलनिर पुग्यौं। पर्खाइको व्यग्रताबीच धनगढी लेखेको बस धुवाँ उडाउदै हाम्रो अगाडि रोकियो। बस चढ्यौं। पोकोपन्तरो डिक्कीमा राख्न भाइ विजयले सघायो। बस गुड्न थाल्यो।
त्यसबखत घनगढी पुगेझैं लाग्यो। हुन त धनगढी अझ पाँच सय पचास किलो मिटर टाढा थिया। खपडाले छाएको फरक बान्कीका घर, बगलमा तौवा, छिपछिप पानी जमेका घोला, आम्रमञ्जरीले धप्पक्क ढाकेका आँपका बोट, परसम्म देखिने हावामा लहरिँदै गरेका गहुँका बाला देखिए।
शिवपुरबाट बस उकालो लाग्यो। ठाउँठाउँमा पहिरोले सँगुर्‍याएको बाटो। बाटोको दाँयाबाया ताम्रपुष्पी (धञेरो) ले प्रकृतिलाई रक्ताम्य पार्दै फक्रिरहेको थियो। तिल्के फुलेर प्रकृतिलाई सेक्ताम्य पार्न पौठेजोरी खेलिरहेझैं लाग्थ्यो।
ताम्रपुष्पीले आफ्नो मकरन्दलाई भेउ नपाउने गरी स्वर्णकुक्षिमा लुकाएकोले माहुरी मकरन्दको स्पर्श गर्न वेखबर भएझैं लाग्थ्यो। पहिलो बसन्तमा धरतीलाई रक्ताम्य पार्दै यौवनले मदमस्त भएर फक्रेकी ताम्रपुष्पी (धञेरो) माहुरीको स्पर्श विनै अनुज बसन्तमा आफ्नो यौवन ढल्काउदै ओइलाउँछ। नाअरसिसस जस्तै आफ्नै छाँयासँगको प्रेमाग्निमा भष्म भए झै।
प्रकृति त त्यसै मनोरम थियो, आधुनिक विकास पनि त्यहाँ पुगेको रहेछ। सहश्ररश्मीको किरणलाई एउटा सिसाको बट्टामा कैंद गरी बिजुली निकालिएको सोलार पावर' हो त्यो। झोपडी र चिया पसलमा बत्तीको समस्या हल भएको रहेछ। बिजुली सुलभ भएपछि नाङ्लाजत्रा टिभी एन्टेनाका घोचा असरल्लै गाडिएका थिए।
सांस्कृतिक साम्राज्यवादले त्यो कन्दरामा पनि आफूलाई रुचिकर बनाए झै लाग्थ्यो। नागवेली बाटो अनि प्रकृतिका मनोरम छटासँग मितेरी लगाउँदै पहाडी बाटोको करिब पैतिस किलोमिटर फासला तय गर्दै देउखुरी दाङ्गको गोवर डिहा पुग्यौं। बस अडियो। यात्रुहरु खाना खान ओर्लिए। हामीले घरैबाट ल्याएको सामलले भोक मेट्यौ। पहाडी बाटोलाई मेट्दै देउखुरीलाई पछि पार्दै हाम्रो बस नयाँ मुलुक'मा प्रवेश गर्‍यो।
 ‘नयाँ मुलुक' अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' ले परिकल्पना गरेको होइन। यो भूभाग सन् १८५७ मा भारतमा उठेको सिपाही विद्रोहलाई दबाउन नेपालले सघाए बापत प्राप्त भएको हो।  सन् १८१४१८१६ मा इस्ट इण्डिया कम्पनीसँग भएको युद्धमा नेपालले गुमाएको थियो। हालका बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपालमा आएपछि नयाँ मुलुक' भन्ने गरिएको छ।

ब्रिटिस र नेपाल सरकार बीच १ नोभेम्बर १८६० मा भएको तीन बुँदे सन्धि अन्तर्गत नयाँ मुलुक (हाल बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्ला) नेपालको सरहदभित्र आउनुको साथै नयाँ सीमांकन भई जंगे पिलर' राख्ने काम भयो। नयाँ मुलुक २,८४३ वर्ग माईलमा समेटिएको थियो भने कृषि भूमि ८० वर्ग माईल (२,२८,५९३ विगाहा/एक विगाहा बराबर १,३५० वर्ग हात) मात्र रहेको थियो। अरु भूभाग घना जंगलले ढाकेको थियो (एन इकोनोमिक हिष्ट्री अफ नेपाल १८४६१९०१)।
बस हावाको रफ्तारसँगै अघि बढिरहेको थियो। यो हजारौ वर्ष अघिदेखि निधारको पसिना पैतालामा पुर्‍याउँदै, औलोसँग पौठेजोरी खेल्दै जंगललाई अन्न भण्डारमा परिणत गर्ने भूमिपुत्र थारुहरुको थरुहट थियो। थारु जाति नयाँ मुलुकमा मात्र होइन नेपालको पूर्व झापादखि पश्चिम कैलाली, कन्चनपुरका तराई भूभाग र दाङ्ग जस्तो भित्री मधेसमा पहिलेदेखि नै बसोबास गर्दै आएका आदिवासीहरु हुन्। नेपालको दोस्रो ठूलो जनजाति समूहमा पर्ने थारुहरू नेपालको कुल जनसंख्याको आधारमा चौथो स्थानमा (संख्या १५,३३,८७९ र ६.७५ प्रतिशत) छन्। यिनले भाषागत आधारमा मातृभाषा बोल्नेमा पनि चौथो स्थान (संख्या १३,३१,५४६ र ५.८६ प्रतिशत) ओगटेका  छन्। थारु शब्दको उत्पत्ति प्रायः ठहरे', ‘तरहुवा', ‘ठिठुरथा' अठवारु' आदि शब्दको समिपमा खोजिएको छ (हिन्दी विश्वकोश भाग ५)। पूर्वी नेपालका थारुले आफूलाई थारु नभनी थउर' भन्ने गरेको पाइन्छ भनेे बौद्ध धर्मको स्थवीर शाखाबाट थउर', ‘थौर' त्यसपछि थारु' भएको र थरी' (ग्राम प्रमुख) बाट थारु शब्दको उत्पति भएको भनाइ पनि छ। यिनलाई कसैले मंगोल, कसैले आर्य राजपुत भनेका छन् भने पहाडभित्र बसोबास गर्ने किराँत बोली बोल्ने मंगोलबाट आर्य भाषा ग्रहण गरी अलग जाति बनेको भन्ने मत पनि छ। थार भन्ने ठाउँबाट आएकाले थारु भन्ने गरिएको समेत उल्लेख छ। पाँचसय माइल लम्बाइ र तीनसय माइल चौडाइमा फैलिएको त्यो मरुभूमिमा मानिसको बसोबास कत्तिको सम्भव छ, अध्ययनको विषय हो।
कसै कसैले यिनलाई मिश्र जाति पनि भनेका छन्। प्राग्ऐतिहासिक कालमा मध्य भारतका कोल र गौड जाति एवम् बोक्सा र थारुका संस्कृति कुमाउ र गढवालको पहाडी भेगमा रहेको र अझ पनि हिमालको फेदीमा बसोबास रहँदै आएकोमा (होली हिमालय) यी थारुले आफू राजपुतानाबाट आएको भन्ने गरेकोमा केही सत्यता छ।
चितौर (राजपुताना) मा मुसलमानको आक्रमण भएपछि सुरक्षाका खातिर पहाडतिर लागेका जातिहरू आफूलाई राजपुत वशंसँग जोडने गर्छन्। अझ कैलाली कंन्चनपुरका राना थारु मेवाडका राजपुतको वंशजसँगको जोडाइले केही कुरा उठाएको छ (थारु जाति एक अध्ययन)। भारतको मध्य भागमा बसोबास गर्ने जनजाति गौड र भीलको मिश्रण राजपुतसँग भएको पाइन्छ। राजपुत र गौडको मिश्रणबाट गौड राजपुत' वा राजागौड' भन्ने गर्छन् भने भील र राजपुतको मिश्रणबाट भीलाले' भन्ने गर्छन्। यी दुवै राजागौड' भीलाले' ले अरु साधारण गौड जाति र भील जातिभन्दा आफू अब्बल भएको मान्छन् (द हाइल्याण्ड अफ सेन्ट्रल इन्डिया र राजस्थानके भील और लोक संस्कृति)।
केही लेखकले पहाडको मगर जाति नै थारु भएको बताएका छन्। (थारु जाति एक अध्ययन)। यस जातिको विषय रहस्यमय छ। तर यो रैथाने जातिमा औलो प्रतिरोधी वंशाणु क्षमता छ। थारु जातिमा अल्फा थालासेमिया भन्ने जिन पाइन्छ, जसले औलो विरुद्ध जेनेटिक प्रतिरोध क्षमता उपलब्ध  गराउँछ भन्ने वैज्ञानिक मत छ। जसले औलोबाट हुने मृत्युदर दशगुनासम्म घटाइदिन सक्छ (आँधीको खेती)। यस किसिमको जिन शरीरमा पैदा हुन हजारौ वर्ष लाग्छ। त्यसैले यी जाति आदिवासी रैथाने हुन् भन्न्ो पुष्टि हुन्छ।

दिन ढल्किदै थियो। हाम्रो बस सतवरीया कप्तानगंज पुग्दा पौने दुई बजिसकेको थियो। कुसुम भुरेगाँउ पुग्न एक घण्टा लाग्यो। बर्दिया राष्ट्रिय निकुन्ज प्रवेश गर्दा पौने पाँच बजिसकेको थियो। नदी किनारमा निर्भिक भएर घाम ताप्दै गरेका घडियाल र गोही देखिन्थे। सडककै छेवैमा मयुरले आफनो सप्तरंगी सुन्दरतालाई फिजाउदै विचरण गरेको देखिन्थ्यो।
पाँचौ देखि सातौ शताब्दीको बीच चिनीयाँ तीर्थयात्रीले भारतको भ्रमण गर्दा पश्चिमी र मध्य तराईका तुलनामा पूर्वी तराईमा निकै बढी मात्रामा खेती गरेको उल्लेख छ। भूमिलाई खेतीयोग्य बनाउने मेहनती र तराईका किसान थारु बसाइसराइको प्रवृत्ति एकातिर पश्चिमोन्मुख देखिन्छ (नेपालका राजाहरु तथा तराईका थारु)।
नयाँ मुलुकको सन्दर्भमा विभिन्न कारणले उल्लेखनीय संख्याका थारु दाङ्ग छाडेर पश्चिमतिर लागे र बर्दियाको मलिलो प्राकृतिक सिंचाइ सुविधा भएको राजापुर त्रिकोण क्षेत्रमा बस्ती बसाए। जहाँ हाल उनीहरुको जनसंख्या त्रियानब्बे हजार छ। सन् १९५० देखि औलो नियन्त्रण सुरु भएपछि औलोबाट हुने मृत्युदरमा हजार गुना कमी आयो। समग्रमा सन् १९६० का दशकको मध्यसम्म, अत्याधिक घनत्व भएका पहाडी जिल्लाबाट ठूलो संख्याले तराईको उर्वर मैदानी भागमा बस्ती बसाउन थाले। सन् १९६३ देखि सन् १९७८ बीच करिब २० लाख मानिस तराई क्षेत्रमा बसाइँ सरे।
विर्ता जमिन विभिन्न तरिकाले खण्डित हुँदै गइरहेको बखत नेपाल सरकारले बाँके र बर्दियामा पहाडबाट बसाइँ सरेर आउने प्रत्येक परिवारलाई चार विगाहाका दरले जमिन वितरण गर्नुका साथै घना जंगल भएका जमिन क्षेत्रलाई तिरो माफ दिने समय सीमा सहित कम मूल्यमा बिक्री गर्नाले वन फडान गरी खेती गर्ने मार्ग प्रशस्त गर्‍यो भने पूरै तराई छिचोल्ने गरी पूर्व पश्चिम राजमार्ग निर्माणले तराई क्षेत्रमा कृषि र उद्योगको ढोका खुल्नाले आर्थिक विकासको इन्जिनको रुपमा यो ठाउँ परिणत हुन गयो (आँधीको खेती..)।
यस क्षेत्रमा गैर थारुको जनसंख्याको चाप बढ्नुले मिश्रित समाज बन्दै गयो। यी परिश्रमी थारु अहिले आफ्नो पहिचानको खोजीमा छन्।
बस चिसापानीको कर्णाली पुल तर्दा सहश्ररश्मीले आकास मार्ग छिचोली सकेको थियो। पहेलिदै गएको चखेवाको प्यारो दिन पनि खुम्चिन लागिसकेको थियो। पर पर सम्म फैलिएको रक्तिम वर्ण हुने अन्धकारनाशक किरणमण्डललाई रश्मीले आफ्नो बिम्बमा लय गरिसकेको थियो।
हाम्रो बस थारुवानको वक्ष स्थललाई स्पर्श गर्दै गन्तव्यतिर लागिरहेको थियो। हामी धनगढी पुग्दा निशाले आफ्नो उर्पनामा धनगढीलाई लुकाइसकेकी थिइन्। आत्मिकजनको सौमनस्य आतिथ्यपछि निद्रादेवीको काखमा पुगेको थाहै भएन्।
-निर्मल श्रेष्ठ 

No comments:

Post a Comment