Sunday, August 12, 2012

मिस नेपालको 'केही गर्ने' छनक (फोटो फिचर)

मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरिरहेकी सृष्टि श्रेष्ठ 'बिच ब्युटी'को उत्कृष्ट ४० मा परेकी छिन्। गएको बिहीवार मिस वर्ल्डले सार्वजनिक गरेको सूचीमा उनको नाम समेटिएको हो। भारत, थाइल्यान्ड, भियतनाम, स्पेन, डेनमार्क, चिली, फ्रान्स, फिलिपिन्स, भेनेजुयला, अस्ट्रेलिया, इटाली, जापान आदि देशका सुन्दरी उत्कृष्ट ४० मा परेका छन्।
चार समूहमा विभाजित 'बिच ब्युटी' अन्तर्गत सृष्टि तेस्रो समूहमा प्रथम भएकी हुन्।
उनको समूहमा मंगोलिया, पोर्चुगल, केन्या र चीनसहित १२ देशका सुन्दरी  सहभागी थिए। 'मिस वर्ल्डअन्तर्गतको बिच ब्युटीको उत्कृष्ट ४० मा समेटिएकी छु,' सृष्टिले फेसबुकमा लेखेकी छिन्, 'एकदम खुसी लागेको छ।'
स्विमसुटमा सजिएका प्रतियोगीहरूको फिगर, आत्मविश्वास, सुन्दरता र स्टाइलका आधारमा बिच ब्युटीको सूची तयार गरिएको हो। विगतमा नेपालका कुनै पनि सहभागी 'बिच ब्युटी'मा छनोट भएका थिएनन्।
पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ पनि बिच ब्युटीको प्रतियोगितामा सहभागी भइसकेकी छिन्। 'सबैलाई निर्णायकका अगाडि हिँड्न लगाइन्छ,' सदीक्षाले भनिन्, 'त्यही बेला सुन्दरीको आत्मविश्वास, फिगर र स्टाइल हेर्ने गरिन्छ।'
सामाजिक सञ्जालका लागि दिइने 'मिस मल्टिमिडिया'मा सृष्टि दोस्रो स्थानमा छिन्। 'यो अवार्ड जित्न उनी पहिलो हुनु जरुरी छ,' पूर्व मिस नेपाल माल्भिका सुब्बाले भनिन्, 'अवार्ड जितेमा सृष्टि उत्कृष्ट ५० भित्र समावेश हुनेछिन् र फाइनल समारोहमा सहभागी हुन पाउनेछिन्।'
टप ५० मा सृष्टि छानिने संभावना रहेकाले उनको पक्षमा भोट संकलन गर्न पूर्व मिस नेपाल श्वेता सिंह र सुब्बाले अभियानै सुरु गरेका छन्। सदीक्षा श्रेष्ठ, मलिना जोशी र सुगारिका केसीले पनि अभियानमा साथ दिएका छन्।
यस पटक सृष्टिले नेपालको पहिचान राख्नेमा आशावादी छिन्, पूर्व मिस नेपाल श्वेता सिंह। 'मिस वर्ल्डमा हाइटले मुख्य भूमिका खेल्छ। त्यसबाहेक विभिन्न क्षेत्रको जानकारी र अध्ययन चाहिन्छ,' आठ वर्षदेखि मिस नेपाललाई प्रशिक्षण दिइरहेकी सिंहले भनिन्, 'सृष्टिलाई हाइटले साथ दिएको छ।' विगतमा हाइटकै कारण मिस नेपालहरू पहिलो चरणबाटै बाहिरिने गरेको उनको तर्क छ।
एक सय २० देशका सुन्दरी सहभागी मिस वर्ल्डको फाइनल भदौ २ गते हुँदैछ।




















No comments:

Post a Comment