चितवन- बर्दिया
मैनापोखर–६
की २५ वर्षीया बितानी थारु चितवन मेडिकल कलेज शिक्षण अस्पतालको अर्थोपेडिक विभागको बेड नम्बर
२ मा बस्न थालेको डेढ वर्ष नै पुग्न लाग्यो। उनले अस्पतालबाट कहिले छुटकारा पाउने हुन
अझै ठेगान छैन। दुर्घटनाका कारण दुईटै खुट्टामा गम्भीर चोट लागेपछि उपचार खर्चको जोगाड
गर्न नसक्दा उनको यो अवस्था भएको हो। बितानी बर्दियाकी भूमिहीन महिला हुन्। राष्ट्रिय भूमि अधिकार मञ्चले २०६७ साल चैतमा
काठमाडौंमा अयोजना गरेको आन्दोलनमा सहभागी हुन फागुन २९ गते उनी बस चढिन्।उनी चढेको
बस ३० गते बिहान नवलपरासीको हर्कपुर भन्ने गाउँमा दुर्घटना भयो। ३२ जना भूमिहीन महिला
चढेको बस पल्टिँदा दुईजनाको घटनास्थलमै मृत्युभएको थियो। 'दुई साथी बिते छन्, मसहित २७ जनालाई अस्पताल
भर्ना गरेर उपचार गराउनु पर्यो,' बितानीले भनिन्।
उनको दुवै खुट्टाको घुँडामुनि चोट लागेको छ। १७ पटकसम्म शल्यवि्र्कया भयो। देब्रे
खुट्टा ठीक हुँदै आए पनि दाहिने खुट्टा निको भएको छैन। अझै एकपटक शल्यवि्र्कया गर्नुपर्ने
अस्पतालले जनाएको छ। नयाँ बन्ने संविधानमा भूमिहीनको अधिकार उल्लेख हुनुपर्ने माग
पूरा गराउन मुख्य दलका कार्यालयमा धर्ना दिने योजना अनुसार भूमिहीनहरू काठमाडौंमा केन्द्रित
हुँदै थिए। बर्दियाबाट रिजर्भ गरेर ल्याएको कृष्णसार यातायात समितिको ना३ख १९१३ नम्बरको
बस दुर्घटना काठमाडौं पुग्न नपाएको मात्रै होइन, बितानीले थप पीडा बेहोर्नुपर्यो।
सुरुमा घाइते सबैको उपचार खर्च बस समितिले बेहोर्दै आएको थियो। 'तर बितानीको खर्चमाथि खर्च
थपियो। घाउ निको हुन सकेन। त्यसपछि बस समिति पनि सम्पर्कमा आउन छाड्यो,' भूमिअधिकारको क्षेत्रमा वि्र्कयाशील
जगत देउजाले भने। उनका अनुसार बस समितिले उपचार खर्चबापत ६ लाख र खाना खर्चको डेढ लाख
रुपैयाँ तिर्न बाँकी छ। 'तिर्नुपर्ने रकमको मात्रा बढ्दै गएपछि पटकपटक समितिसँग सम्पर्क
र समन्वय नगरेको होइन तर समिति पनि खर्च गर्न नसक्ने अवस्थामा रहेको देखियो,'
देउजाले भने।
खर्च थुप्रिँदै गएपछि प्रहरीले पनि गाडी सञ्चालकको सोधखोज गरेको छ। 'हालै मात्र हामीले सम्पर्क
गरेर चाडो कुरा मिलाउन भनेका छौं,' इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक वीरेन्द्र
थापाले भने। 'डाक्टरले अप्रेसन गरौं भन्छ। पछिल्लो समयमा त पैसा नभएपछि चाँडोचाँडो
अप्रेसन गर्न पाइएन,' बितानीका श्रीमान् डिल्लीलाल थारुले भने, 'त्यसैले घाउ निको हुन बेर लाग्यो।'
अहिले १८ औं पटकको
शल्यवि्र्कयाका लागि ५० हजार रुपैयाँसम्म खर्च लाग्ने चिकित्सकहरूको अनुमान छ। पैसा
नभएका डिल्ली श्रीमतीलाई अस्पतालमै छाडेर उपाएको खोजीमा गाउँ गएका छन्।
'तिर्नुपर्ने पैसा त धेरै नै छ। अझै केही रकम आवश्यक पर्छ,' चितवन मेडिकल कलेजको अर्थोपेडिक
विभागका चिकित्सक अर्जुन श्रेष्ठले भने, 'तर पैसै नभएर हामीले उपचार रोकेका छैनौं।' खुट्टा नै काट्नु पर्ने अवस्थामा
पुगेकी बितानीको घाउ निको हुन बेर लागेको उनी बताउँछन्। 'कि खुट्टा काटेर फाल्नुपर्ने थियो,
नभए घाउ सफा गर्दै
बिस्तारै उपचार गर्नुपर्ने हुन्थ्यो। खुट्टा नकाट्ने निर्णय भएकाले लामो समय लागेको
हो,' डा.श्रेष्ठले
भने। बितानीको निको हुन बाँकी दाहिने खुट्टाको शल्यवि्र्कया गरेर स्टीलको रड हाल्नुपर्ने
उनले बताए।
'अहिलेलाई त्यही रड किन्ने पैसा पनि नभएर सहयोग उठाउन थालेका छौं, ' देउजाले भने। डिल्लीले जेठी
श्रीमतीको निधन भएपछि बितानीसँग बिहे गरेका हुन्। जेठीतर्फ ससाना तीन सन्तान छन्। बितानीको
पनि सानै उमेरको एउटा छोरो छ। ऐलानी पाँच कठ्ठाको उब्जनीले खान लाउन धौधौ हुन्छ।
'दुवै जना ज्याला मजदुरीको काम गर्थ्यौं। म यता थलिएँ, उहाँ पनि कुरेरै बस्नु पर्यो,'
बितानीले दुःख पोखिन्,
'घर खर्च चलाउनै मुस्किल
छ, उपचार खर्च
कहाँबाट जुटाउने?' चाँडै निको भए निमेक मजदुरी गरी गुजरा चलाउने उनी बताउँछिन्।
साभार : रमेशकुमार पौडेन/नागरिक
No comments:
Post a Comment