Thursday, September 27, 2012

काठमाडौंमै खस्यो विमान, १९ जनाको मृत्यु

मनोहरा खोला नजिकै विमानमा लागेको आगो।
लुक्ला जाँदै गरेको सीता एयरको डोर्नियर विमान त्रिभुवन विमानस्थल नजिकै मनोहरा खोला किनार दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। बिहान ६१५ बजे लुक्लाका लागि उडेको विमानमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण गर्न फर्कँदै गर्दा ६ बजेर १९ मिनेटमा दुर्घटना भएको हो। मनोहरा खोला किनार सुकुम्बासी बस्ती नजिकैको खाली ठाउँमा विमान सकुशल अवतरण गरे पनि विमानभित्र लागेको आगोका कारण सबै १६ यात्रु र चालक दलका तीन सदस्यको मृत्यु भएको हो। शव जलेका कारण क्षत विक्षत रुपमा रहेकोले चिन्न सकिने अवस्थामा छैन। 


विमान क्याप्टेन विजय तण्डुकारले चलाएका थिए। त्यसमा टकाशी थापा सह चालक र एयर होस्टेज रोजा शाक्य रहेकी थिइन्। थप यात्रुको परिचय खुल्न बाँकी छ। विमानमा १३ यात्रु विदेशी र ३ यात्रु नेपाली रहेको बुझिएको छ। बढी यात्रु इटालीको रहेको भनिए पनि विस्तृत विवरण आउन बाँकी छ। 

विमानस्थल नजिकै दुर्घटना भएकोले केही समयमै दमकल, सेना र प्रहरी घटनास्थलमा खटिएको भए  विमानमा लागेको आगो निभाउन सेना र प्रहरीलाइ ४० मिनेट लागेको थियो। विमानको पुच्छर बाहेक सबै भाग जलेर नष्ट भएको अवस्थामा छ।   

नागरिक दैनिकका नागरिक उड्डयन संवाददाता सुशील भट्टराईका अनुसार ९एनएचए कल साइन रहेको विमान डोर्नियर २२८ हो। नेपाली आकाशमा यसअघि भएको विमान दुर्घटना पनि यही सिरिजको विमान थियो। अग्नि एयरको सो विमान जेठ १ गते जोमसोम विमानस्थल नजिकै दुर्घटना हुँदा ६ जना बाँच्न सफल भएका थिए।  डोर्निएर विमान नेपालमा दुर्घटना भएको यो छैटौँ पटक हो। 

No comments:

Post a Comment